09/09/2022
iPhone14 बिक्री शुरुवातीको संघारमा एकपटक यता तिर पनि सोच्ने पो हो कि त ???
समय मिलेसम्म पढेर प्रतिक्रया पनि दिनु होला🙏
----------------------------------------------
"महँगो स्मार्टफोन, आवश्यकता कि रहर ?
करिब एक दशक अगाडीसम्म, मोबाइल फोन केवल कुराकानी र छोटो मेसेज(SMS) प्रयोजनको लागि मात्र बोक्ने गर्दथे | तर सन् २००१ ताकाबाट मोबाइल फोनको 3G नेटवर्क शुरु भएसँगै, लगभग सन् २००८ ताकाबाट विकसित स्मार्टफोनहरु पनि शुरुवात भएको पाइन्छ | 3G नेटवर्कको विकाससँगै विभिन्न कम्पनीहरुले स्मार्टफोनहरुको विकासमा जोड दिदै आएको देखिन्छ | यसै क्रममा अमेरिकन कम्पनि Apple ले iPhone, कोरियन कम्पनि Samsung ले Galaxy र जापानीज कम्पनीहरु Sony, Sharp, Kyocera ले विभिन्न मोडेलका स्मार्टफोनहरु बजारमा ल्याउनुका साथै विश्व भरिका विभिन्न विद्युतीय सामाग्रीहरु उत्पादन गर्ने कम्पनीहरुले पनि स्मार्टफोनहरु उत्पादन शुरु गरेको पाइन्छ | खै र ! कुन देशले के कति र कस्ता उत्पादन गरे भन्दा पनि, हामी प्रयोगकर्ताको रुपमा के कस्ता कुराहरुमा ध्यान दिन जरुरी छ भन्ने बारेमा, मैले आफैले भोगेको भोगाई र कार्य क्षेत्रसँग सम्बन्धित केहि व्यक्तिगत अनुभवहरु शेयर गर्न चाहन्छु |
संसार भर अहिले, अति नै छिटो गतिमा फड्को मार्दै गरेको स्मार्टफोन र संचार माध्यमसँग अपरिचित र प्रयोग नगर्नेहरु, केही अपवाद बाहेक अति न्यून संख्यामा मात्र छन् भन्दा फरक नपर्ला | यसै बीच, जापानमा रहेका नेपालीहरु, बढी मात्रामा आइफोन प्रति आकर्षित भएको सहज रुपमा देख्न र बुझ्न सक्छौं | कतिपयले आवश्यकता नै भएर महँगा स्मार्टफोन लिने गर्दछन् भने, अधिकतम रुपमा रहर पुरा गर्नको लागि र देखावटीको लागि पनि महँगा स्मार्टफोन बोकेको हामी देख्न सक्छौं | जापानको परिवेशमा भन्नु पर्दा, स्मार्टफोनहरु मोबाइल सर्भिस कम्पनीबाट सजिलै किस्तामा लिन सकिने (केहि अपवाद बाहेक) भएको हुँदा, खास गरि आइफोनको प्रयोग हामी नेपाली माझ धेरै नै देखिन्छ | हेर्दा चट्ट एप्पलको लोगो अनि क्यामेरा २ वा ३ वटा भएका आइफोन बोक्ने जो कसैको पनि रहर नहुने त कुरै भएन | तर अरुको अगाडी महँगो आइफोन बोक्दाको शान र आत्मासन्तुष्टि भित्र भने पक्कै पनि केहि न केहि ओझेलमा परेका दुखका कुराहरु, अप्ठ्याराका कथा र अ-आफ्नै व्यथाहरु लुकेका हुन्छन् |
जापानमा मोबाइल सर्भिस कम्पनीबाट किस्तामा स्मार्टफोन किन्दा कुनै किसिमको ब्याज र अतिरिक्त महसुल भने लाग्दैन | तर केहि नगण्य संख्यामा बाहेक, अधिकांश नेपालीले मोबाइल सर्भिस कम्पनीहरुको नियम र सम्झौताहरु नबुझिकनै हतारमा या अरुको लहै-लहैमा लागेर महँगा स्मार्टफोनहरु किस्तामा लिने गर्दछन् | र केहि समय प्रयोग गरे पछि जब धमाधम घरमा बिल आउने र बैंकबाट पैसा काट्न थाल्छ, तब मात्र आफू ठगिएको महसुस र भान हुन थाल्दछ, र जापानिज मोबाइल सर्भिस कम्पनीलाई गालीगलौच र सराप्न पनि पछि पर्दैनौं | जुन कुरा हामीले छरप्रष्ट विभिन्न सामाजिक संजालहरुमा हेर्न, पढ्न र देख्न सक्छौं | तर जति नै चर्को आवाजमा गालीगलौच र सहयोगको लागि याचना गरेता पनि, हाम्रो आवाज जापानका कुनै पनि निकायले सुनिदिनेवाला भने छैन | बरु उल्टै मोबाइल कम्पनिले वकिल मार्फत कालो सूचीमा राखेर पत्र काट्छ र विवश भएर, बक्यौदा रकम भुक्तानी गर्ने या सधैँ भरि जापानको मोबाइल सर्भिस कम्पनिको कालो सुचीमा रहिरहनु पर्ने बाध्यतासम्म आइपरेका उदाहरणहरु पनि छन् | मोबाइल सर्भिस कम्पनीहरुले पनि उनिहरुको फाइदा बिना, स्मार्टफोन सेट ब्याज रहित र अतिरिक्त महसुल बिना ग्राहकलाई किस्तामा दिएको हुदैन | उनिहरुले शुरुमा नै विभिन्न सम्झौता पत्रमा हामीलाई हस्ताक्षर गर्न लगाएका हुन्छन् | तर हामी मध्य धेरै जनालाई त्यस्तो सम्झौता पत्रहरु विस्तृत रुपमा हेर्न र पढ्न झन्झट लाग्ने अनि जे भने नि “हाई-हाई”(हस् हुन्छ) भनेर सम्झौता पत्रमा हस्ताक्षर गरिदिन्छौं | कतिपयले भाषा नबुझेर नै जे भने पनि “हाई-हाई” भन्छन त कसैले भाषा जानेर पनि झन्झट मानेर “हाई-हाई” भनिदिने बानीले नै पछि गएर हामी आफै अप्ठ्यारोमा पर्ने गर्दछौ |
मोबाइल फोन लिने बेलामा विशेष ध्यान दिनु पर्ने कुराहरु :
१. आफ्नो आर्थिक स्थिति : जापानमा आइफोन-१४ को बजार मुल्य करिब १ लाख ४० हजार येन देखि ३ लाख येनसम्म पर्दछ भने एण्ड्रोइड स्मार्टफोनको बजार मुल्य २२ हजार येनबाट शुरु हुन्छ | शुरुमा सस्तो स्मार्टफोन किनेर, आफ्नो आर्थिक स्थितिमा सुधार आए पछि फेरि महँगा स्मार्टफोनमा पनि परिवर्तन गर्न सकिन्छ | तर कतिपय नेपाली प्रयोगकर्ताहरुले रहरै रहरमा महँगा स्मार्टफोन किन्ने र महिनावारी बिल तिर्न गारो हुदै गएपछि, बिल तिर्न छोडिदिने र कालो सूचीमा पर्ने जस्ता उदाहरणहरु पनि छन् | कतिपयले त आफ्नो आर्थिक स्थिति ठिक नहुँदा नहुँदै पनि, नेपालमा आफन्त र परिवारलाई पठाउन कै लागि भने पनि महँगा आइफोन लिने र बिल तिर्न धौ-धौ पर्ने गरेका उदाहरणहरु नि प्रशस्तै छन् | तसर्थ, आफ्नो आर्थिक स्थितिलाई पनि मध्य नजर राखेर, प्रत्येक महिनाको बिल तिर्दा आफुलाई गारो नपर्ने गरी स्मार्टफोनहरु छनौट गरौँ |
२. नियम र सम्झौता बारे राम्रोसँग बुझ्ने : मोबाइल सर्भिस कम्पनी अनुसार, नियम र सम्झौताका प्रकारहरु पनि फरक-फरक हुन्छन् | त्यसैले यदि आफुलाई भाषाको समस्या छ भने, जापानिज भाषा राम्रोसँग बोल्न-बुझ्न सक्ने कोहि साथीलाई साथमा लिएर जाने वा नेपाली स्टाफ भएका पसलमा गएर सम्झौता गर्दा उचित हुन्छ | हतार गरेर सम्झौता गर्नाले पछि आफैलाई नै मर्का पर्न जान्छ | खास गरि इन्टरनेट र फोन प्लानको बारेमा, र विभिन्न आवश्यक र अनावश्यक कन्टेन्टहरुको बारेमा स्पष्ट रुपमा बुझ्नु जरुरी हुन्छ | यदि अनावश्यक कन्टेन्टहरु भएमा सम्झौताको बेलामा नै हटाएर सम्झौता गर्दा उचित हुन्छ | कतिपय मोबाइल सर्भिस कम्पनीहरु र पसलहरुले निश्चित समयावधिसम्म (जस्तै: १ महिना, ३ महिना) मात्र निशुल्क र निर्धारित समयावधि सकिए पछि शुल्क लाग्ने कन्टेन्टहरु हालिदिने गर्दछन | र त्यसको परिणाम, शुरुमा बिल सस्तो आउने र केहि महिना पछि बिल बढेर आउने हुन्छ | यो समस्या सबैभन्दा बढी सुनिने र भएका समस्या मध्य एक हो |
३. मोबाइल क्यारिअर कम्पनीको छनौट : जापानमा मुख्यत: ३ ठुला मोबाइल क्यारिअर कम्पनिहरु au, docomo, Softbank छन् र अहिले Rakuten Mobile पनि थपिएको छ | सबै कम्पनीका अ-आफ्नै विशेषता र सेवा-सुबिधाहरु पनि छन् | आइफोन लगायत अन्य महँगा एण्ड्रोइड फोनहरुको पछिल्ला नयाँ मोडेलहरु लिन चाहानेहरुको लागि ३ ठुला कम्पनीहरु ठिक छ | तर नयाँ मोडेलका स्मार्टफोन भन्दा पनि महिनावारी बिल सस्तो बनाउन चाहनेहरुको लागि भने Rakuten, UQ र Ymobile लगायत विभिन्न सस्तोमा चलाउन सकिने, इन्टरनेटबाट नै सम्झौता गर्न सकिने अन्य कम्पनीहरु पनि धेरै छन् |
अन्तमा, पारिवारिक आर्थिक भारलाई केहि मात्रामा भए पनि कम गर्न र सकेसम्म मोबाइल सर्भिस कम्पनीको कालो सुचिमा पर्नबाट जोगिनको लागि पनि, आफ्नो आवश्यकता र आर्थिक स्थितिलाई ध्यानमा राखेर मोबाइल क्यारिअर कम्पनी र स्मार्टफोनहरुको छनौट गर्ने बानी बसाल्ने पो हो कि त ??
from fb wall