03/08/2026
प्रदीप परियारको सियोधागो दलित जीवनको कहालिलाग्दो संघर्षको उद्घोष
प्रदीप परियारको कृति निबन्ध संग्रह सियोधागो फाइन्प्रिन्टको प्रकाशन हो । शीर्षक सिलसिलामा आइ क्यान्ट ब्रिद सहित चार खण्डमा लेखेका छन्। पुस्तकमा आफ्नो परिवार, उनका हजुरबुवा, आमाबा र आफ्नै भोगाइ र संघर्षलाई आत्मकथाका रूपमा अभिव्यक्त गरेका छन् । नेपाली र विश्वभरी नै युवाको अवस्था र सरकारले गर्नुपर्ने र विश्वस्तरबाटै हुनुपर्ने प्रयासबारे अनि भैरहेका गतिविधिका बारे तथा युवा अभियानमा आफू होमिनुको कारण र हुटहुटी समेतको प्रेरणादायी घटना र समर्पणलाई सुरूचिपूर्ण पस्केका गरेका छन् । आफू दलित समुदायको भएका कारण गाउँदेखि काठमाडौ शहरसम्म पुग्दा पनि जातीय विभेद र छुवाछुतले अवहेलनाको सिकार भएकै कारण देशको जुनसुकै भूगोलमा घटेका जातीय विभेद र छुवाछुत तथा हत्या हंसाका घटनामा स्वस्फूर्त होमिएकाछन् । शैलेश्वरी मन्दिरमा दलित प्रवेशको आन्दोलनलाई परिणाममा पुर्याउन , रुकुमको सोतीगाउँमा अन्तरजातीय प्रेम गरेर प्रेमिकाको आग्रहमा साथीहरू समेत भगाई विहे गर्न गएका नवराज बिक लागायत छजना युवाहरूको सामुहिक हत्या गाउँ नै उल्टेर गर्दा पिडित परिवारलाई न्याय दिलाउन आन्दोलनको अग्रमोर्चामा रहेका प्रदीप परियार कैलालीका रोशन बिकको प्रहरी हिरासतमा भएको रहस्यमय मृत्यू जुन हत्या नै हो भनी शंका गर्न सकिने धेरै ठाउँ छ, सम्म संघर्ष र आन्दोलनमा सहभागी छन् ।
२०५४ सालको स्थानीय निर्वाचन आफ्नो पार्टीमा दलित भोट ट्रान्सफर गराउन उनका पार्टीका जिल्ला र स्थानीय नेताहरूको अनुरोधमा खुर्कोट पुगेका त्यतिवेलाका चर्चित कम्युनिस्ट नेता गोल्छे सार्की उनका घरमा बास बस्छन् । उनले पछि थाहा पाउँछन् गोल्छे सार्की जस्ता नेतालाई भोट बढाउन बोलाउने नेताहरूले आफ्ना घरमा बास दिन नसकेर दलितकै घरमा बास बसाएका रहेछन् । त्यो समय देशमा बहुदलीय संसदीय प्रजातन्त्र पुनर्स्थापना भएको २०४६ सालको जन आन्दोलन भैसके पछिको समय हो । यो प्रसंगलाई पनि जोरदार रूपमा उल्लेख गरेकाछन् ।
दलित जागरण रेडियो नेपालमा संचालित हुने कार्यक्रमको रिपोर्टिङका लागि अछाम पुगेका प्रदीप त्यहा युवाहरूले पसलका अगाडि आगनमा क्यारेम बोर्ड खेलेर सिर्जनसिल समय बर्बाद गरिरहेका देखेर अब युवाका लागि केही गर्नुपर्छ भन्ने लागेर हुदाखादा को रोजगारीलाई तिलाञ्जली दिई युवा सशक्तीकरण अभियानमा जुटी युवाहरूको राष्ट्रिय संजालकै नेतृत्व सम्हान पुगछन् । सो संजालको अध्यक्ष निर्वार्चित भएपछी उनलाई निर्वाचित भएर के भो दमाई त होस दमाइले के लछार्छस जस्ता अप्रिय र निकृष्ट जातीय रूपमा हतोत्साही बनाउने अज्ञात नम्बर बाट सन्देस आउँछ । उनी निरास हतोत्साह हुनुको सट्टा आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गरि नेतृत्व हस्तान्तरण गर्न पुग्छन् । त्यो निकृष्ट जातीय सोच र चिन्तनलाई पनि परास्त गर्न सफल हुन्छन् ।
उनका बुवा कृष्णबहादुर नेपाल सरकारको सुब्बा पदसम्म पुगे । उनको कार्यक्षेत्र गाउँकै इलाका हुलाक भएकाले घरमा उनले लुगा सिलाउने काम गरिरहे तर छोरा छोरीलाई आमाबाले कलमा होईन किताबमा बल गर भनी सन्तानलाई पढ्न मात्र लगाए । २०३१ सालमा एसएलसी पास हुने बित्तिकै सरकारी नौकरी पाएका उनका बुवा कृष्णबहादुरले कति संघर्ष गर्नुपरेहोला, कति अवहेला र जातीय विभेद छुवाछूतको सामना गर्नु परे होला सोच्दा उनी कहालिन्छन् । पचासको दशको मध्ये तिर एसएलसी उत्तीर्ण प्रदीपले पञ्चायती व्यवस्थाथाको अवसान भइसकेकोको समयमा पनि सहिनसक्नु विभेद भोग्नुपर्यो ।
काठमाडौंमा परियार भन्ने जात थाहा पाएपछी मैतीदेवीको बहालको घरबाट निकालिएका उनी एक मुस्लिमको घरमा डेरा गरि बस्छन् । त्यहा उनलाईलाई पछि कुनै जातीय समस्या आएन । तर हिन्दू भएर पनि एक हिन्दू हिन्दूद्वारा नै बहिस्कृत हुनु अति दुर्भाग्य नभएर के हो ? लागे होला अब आफ्नै घर हुनुपर्छ । उनी घर खोज्दै हिडे घरपनी पाइयो बैना पनि बुझाइयो तर पछि परिवारले जातीयता कै कारण प्रदीपहरूलाई घर बेच्न नचाहेकोले घरधनीले बैना फिर्ता गरिदिदा जुन चोट उनको मनमा लाग्यो । त्यो वर्णनातित पीडादायी छ ।
जातीय विभेद तथा छुवाछूतको आन्दोलनमा उनले सबै गैरदलितले विभेद र छुवाछुत गर्छन भनेका छैनन थोरै भएपनी सानो गैरदलितको संख्याले समानताको व्यवहार गर्दै साथ समर्थन पनि दिइरहेको छ । यसबाट के थाहा हुन्छ भने साथ समर्थन दिने र समानताको मर्यादित व्यवहार गर्ने गैर दलितको संख्या जति बढ्दै गयो जातव्यवस्था पनि त्यति नै कम हुन्छ भन्ने यो कृतिले इंगित गर्छ जस्तो लाग्छ । यो ग्राफ बढाउने तर्फ कदम सबैले चाल्नु उत्तम हो । यो समाजमा राम्रा व्यक्ति पनि छन । समानतावादी असल मान्छेहरू बहुसंख्यक रुढीबादी सोचका अनुदार मान्छेको ठूलो हिस्सासंग मुकाबिला गर्न सकिरहेका छैनन् ।
अन्तरजातीय विवाह, धारा पधेरामा, मन्दिरमा हिंसा र अपमान पिडित दलितले न्याय पाउन निकै गाह्रो छ । किनभने पिडक समुदायका मान्छेहरू नै प्रहरी, प्रशासन र न्यायालयमा बिराजमान छन् । न्याय सम्पादन गर्नेहरूलाई अन्यायमा परेका पिडित प्रति रत्तिभर सहानुभूति हुदैन बरू जातीय विभेद र छुवाछुत कसुर गर्ने अन्यायी पिडकलाई बचाउनुलाई कर्तव्य ठान्छन् र न्वारानदेखि को बल लगाएर संविधान र कानूनको धज्जी उडाइरहेका छन् । सरकारले थाहा नपाए जस्तो गरि वा थाहा पाउने आवस्यकता नै नठानी उपेक्षा गरेर पिडक बचाउ अभियान नै थाले जस्तो लाग्छ । गैर दलितले गरेका अपराधमा पनि दलितले सजाय र कैद भुक्तानी गरेको अकल्पनीय संगठित अपराधमा पनि सरकारी पदको दुरुपयोग गैरदलितले गरिरहेका छन् भन्ने कुरो नेपालगन्जका सुन्दर हरिजनले एकजना विजय शाहको सजाय र कैद मात्र भुक्तानी गर्दैनन सुन्दरको हत्या पनि कारागार भित्रै हुन्छ । उनका परिवारले न्याय पाएनन् । अपराधी उन्मुक्त छन् । यस्तै गैरन्यायिक सामाजिक उत्पिडन विभेद र छुवाछुतलाई संरक्षण गरी देशको सविधानको धज्जी उडाउन सरकार, समाज र राज्यले कुनै कसर बाकीँ राख्दैनन् । देश आफ्नो भएपनी सरकार र सत्ता विरानो भएको यथार्थ कृतिमा तथ्यगत रुपामा उल्लेख छ । यस कृतिमा उठाइएका विषय सत्य छन् । हिन्दू भनिएको समाजमा वेदको प्रारम्भ भए देखि विद्यमान छ, जातव्यवस्था । धर्म, समाज र राज्यले नै संरक्षण गरिराखेका जातीय विभेद र छुवाछुतले दलित समुदायको आर्थिक, सामाजिक, शैक्षिक, राजनैतिक , सांस्कृतिक लगायतका क्षेत्रमा शिर ठाडो हुन नदिने गरि रुढीवाद र अन्धविश्वासी अमानवीय कुप्रथा कसरी लादिएको छ र हट्न नदिन कसका भुमिकाहरू छन् कृतिले हल्ला बोलेको छ । दलितको जीवन र आत्म सम्मानको मूल्य कुन तहमा सामाजिक , धार्मिक र सरकारी बद्नियतको जातोमा पिसिइरहेका छन् भन्ने प्रमाणको साहसिक उद्घोष हो प्रदीपको सियोधागो । दलित हुनु यो समाजमा मुल्यहीन हुनुको पीडा छ र यो पीडाबाट उन्मुक्तिको चाहना छ, विभेद विरूद्ध लड्न एकताको शंखघोष छ ।
पुस्तकको पहिलो शीर्षक आई क्यान्ट ब्रिद मा कोविड 19 को समय अमेरिकामा अश्वेत केटालाई चोरीको आरोपमा समातेर श्वेत प्रहरीले घुडाले घाँटी थिच्दा आई क्यान्ट ब्रिद भन्दा भन्दै पनि अश्वेत केटाको घाटी थिचेर हत्या नै गरि दिन्छ । यो घटनाले विश्वलाई नै अमेरिकी मानव अधिकार, समानता, स्वतन्त्रता र उन्नत भनिने लोकतन्त्रलाई लज्जित बनायो । त्यहाका राष्ट्रपतिले अश्वेत नागरिकहरूसँग सरकारका तर्फबाट माफी मागे । हो त्यस्तै नेपालका दलित समुदायलाई पनि आत्म सम्मान, स्वतन्त्रता , समानता र छुवाछुत रहित श्वास फेर्न दिइदैन ।
समानता र छुवाछुतरहित अभ्यास अपेक्षा गर्दै गर्दा र छुवाछुतको र विभेदको कुरुक्षेत्रमा संयोगले अन्तरजातीय प्रेम विवाह गर्ने, धारा पधेरा, सार्बजनिक स्थलमा, मन्दिरमा दलितलाई समानता, आत्मसम्मान र छुवाछुत व्यवहार हुदा हरपल श्वास फेर्न सकिने अवस्था छैन् । कतिपयले जातव्यवस्थाकै कारण जिन्दगीबाट हात धुनुपरेको छ । अमेरिकी सरकारले उसको एकजना प्रहरीले गरेको रंगभेद गलत हो भनेर माफी माग्यो । तर हाम्रो देशमा सरकार जातीय विभेद र छुवाछुतका घटना लुकाउन र दबाउन सरकारी संयन्त्रकै निर्लज्ज खुल्ला उपयोग गर्दछ । यस्तै घटनाहरूले नेपालमा दलितको जीवनको मूल्य विभेद र छुवाछुत सहनु र चुप लाग्नु हो होइन भने जतिसुकै गम्भीर र जोखिम झेल्न तयार रहनुपर्छ भन्ने राज्य र समाजको मनुवादी सोच र व्यवहारलाई प्रदीपले उदाङ्ग पारिदिएका छन् ।
उनका वुवाको असामयिक निधनपछी आमालाई गाउँ खुर्कोटबाट उनी र उनका दाजुले काठमाडौं ल्याए । श्रीमानको निधनको वियोगले डिप्रेसनमा पुगेकी उनकी आमा एकदिन काठमाडौंमा भद्रकुमारी घलेले संचालन गरेको महिला सशक्तिकरण सम्बन्धी कार्यक्रम अन्तरगत प्रौढ शिक्षा गैरदलित महिलाहरूसंग पढ्दा जाती थाहा पाएपछी काठमाडौ देशको राजधानीमा पनि गाउँको जस्तै विभेद र छुवाछुत भएको उनकी आमाको र अनौपचारिक शिक्षा अध्ययन गर्दाको भोगाइले पनि दलित भएर बाच्न कम्ता गाह्रो छैन भन्ने देखाउछ ।
अन्तराष्ट्रिय मञ्चहरूमा समेत युवाको प्रतिनिधित्व गरेर संयुक्त राष्ट्र संघ जस्तो विश्वकै अभिभावक जस्तो संस्थामा विश्वकै युवाहरूको प्रतिभा र क्षमतालाई मानव विकासका विविध आयामहरूमा सदुपयोग गर्नुपर्छ अन्यथा कुनै देशले मात्र होईन विश्वले नै जोखिम भोग्नुपर्नेछ भन्ने निष्कर्ष साथ युएनओलाई पनि युवाहरूको पैरवी गर्न र अवसर सिर्जना गर्न प्रभाव पार्न सक्ने विश्वकै थोरै युवाहरू मध्ये एक हुन प्रदीप ।
कृति निबन्ध संग्रह भएपनि यो प्रदीप परियारको बाल्यकालदेखी युवा हुँदै आजसम्मको आत्मकथा हो । उनको संघर्ष र अठोट हरेक युवाका लागि प्रेरणा हुनेछ । उनी आफ्ना लागि मात्र होइन सिमान्तकृत समुदायको आत्मसम्मान, समानता र स्वतन्त्रताका पैरवीकार हुन भने युवाको प्रतिभा र क्षमतालाई उनीहरूको व्यक्तित्व विकासका साथै सामाजिक विकास र उत्थानमा पनि देशको समृद्धिसँग जोड्नुपर्छ भनी लागेका समर्पित युवा अभियन्ता पनि हुन् ।
प्रदीपको सियोधागो उनका वुवा र बाजेले उनीहरूको परिवारको उन्नयन र समृद्धिका लागि तत्कालिन समाजको आवश्यकतालाई परिपूर्ति गर्न उपयोग गरेका मेटरियल मात्र होइनन् बरू यो पुस्तकको सियोधागोको भाव देशमा विद्यमान अनेक विभेद र विभाजनलाई समाप्त गरी देश समाजलाई जोड्न सिलाउने छ भन्ने सन्देश प्रवाह गर्दछ । पुस्तक पठनीय छ । प्रेरक छ । यो कृति सामाजिक अन्याय, अत्याचार, असमानताको सिकार भएर पुस्तौ विताएको दलित समुदाय विभेद र छुवाछुत विनाको समाज कहिले पाउँछन् भनेर सोधिरहेको छ संविधान कार्यान्वयनकर्ताहरूलाई । किन उत्पिडक भन्दा सरकार कमजोर छ ।
लेखक
गणेश नेपाली
धनगढी