13/11/2014
अघिल्लो दिन घरलौरी सवैलाई सताक्षीधाम जाने बाटोको झाडी सफाईको निम्तो उनिहरुले गरेका थिए। बाटोको दुवै किनारका बाक्लो झोडि फाड्न अभियानका अभियन्ता योगनिधि बास्तोलाले झिलझिलेका ३० वटा घरका मालीकलाई बोलाएका थिए।
सोही अभियानका अर्का अभियन्ता प्रदिप कार्कीले पनि ३५ घर जतिलाई घरैमा गएर निम्ता गरेका थिए। तर, उनीहरु दुवैको झाडी सफाई अभियानमा उनीहरु बाहेक कोहि आएनन्। सताक्षीधाम जाने ग्राभेल सडकमा खलखली पसीना पुच्दै दाईने हातले खुडो चलाउँदै गरेका बास्तोलाले भने,‘६० देखि ७० वटा घरका मालिकलाई अभियानमा सरिक हुन निम्ता गरेका थियौ, लास्टमा त दूईजना मात्रै पो भयौे।’
‘हामीले नाम कमाउनका लागि यो बाटोको सफाई गरेका होईनौ’, बास्तोलाले भने, 'कात्तिकका दिनमा हाम्रा पनि घरमा धान काट्ने, कुन्यौ लगाउने काम थिए होला तर यो झाडीका कारण सताक्षीधाम जाने कुनै पनि तिर्थयात्रु भयवित भएर हिडनु नपरोस भन्नका लागि मात्र हो।'
'हाम्रो यो अभियानलाई झिलझिले बजारबासीले असहयोग गरेपनि हाम्रो अभियान दुईजनैले पूरा गर्ने छौ।’ यसअघिका केहि कार्यक्रममा उनीहरुले सताक्षीधाम मन्दिर विकास समितिलाई निम्त्याएका थिए। बास्तोलाले भने, 'ति कार्यक्रममा समितिका पदाधिकारी नआएपछि उनीहरुलाई निम्ता गर्न छोडेका हौ।’ यो कार्यक्रममा पनि निम्ता गरेका थियौ भने पनि आउदैन थिएहोला,' उनले भने।
झिलझिले देखिको करिब साढे ४ किलोमिटर ग्राभेल सडक मध्ये २ किलोमिटर सडकलाई धुतुरे, तिते, भक्तेकाँडा, भाटे, बनमारा लगायता बोटले छोपेको छ। मंसीर ५ गते सताक्षीधाममा लाग्ने बालाचर्तुदर्सीको मेलामा आउने तिर्थालुलाई सजिलो होस भन्ने हेलतुले झाडी सफाई गरेको अभियानका अर्का अभियन्ता प्रदिप कार्कीले बताए।
झिलझिले बजार साताको मंगलबार बन्द हुने गरेको छ। बजारबासी र व्यापारीहरुलाई सजिलो होस भन्नका लागि मंगलवार झाडी सफाइ कार्यक्रम राखिएको थियो।
सताक्षीधाम मन्दिर विकास समितिको हेल्चेक्क्राईले बाटो नै ढाक्ने गरी झाडी पलाएको हो। समितिले कुनै दिन पनि धाम विकासका लागि कार्यक्रम नल्याएको उनीहरुले गुनासो गरे। धाममा पैसा हुन्जेल सवैले र्याल चुहाए पैसा सकिएपछि लाखापाखा लागेको आरोप बास्तोलाको छ।
हुनपनि घारी बाटोको कारण उछ्रिङ्खल गतिबिधि पनि हुने गरेको स्थानीयको गुनासो छ। सताक्षीधाममा यतिबेला पिकनीक खानेको घुईचो लाग्ने गरेको छ। सताक्षीधाम घुम्न आउनेले बाटोको बिकटता र बाटो भरिने घारिका कारण सुरक्षा जटिलता भएको बताए।
मोरङ्ग पथरीका हिमाल घिमीरेले स्थानीयको आम्दानी श्रोत पाएर पनि उपभोग र उपयोग गर्न नजानेको बताए।