13/09/2026
एउटै फ्ल्याटमा बुबा, आमा र छोरी सँगै बस्छन् । तर कहिलेकाहीँ एउटै छानामुनि बस्दा पनि सम्बन्धहरूबीच कति ठूलो दूरी बनिसकेको हुन्छ, त्यो महसुस गर्न एउटा सानो क्षण नै काफी हुँदो रहेछ।
बुबा बिहान ५ बजेदेखि राति १० बजेसम्म व्यस्त छन् । आमा पनि दिनभर घरायसी काममै व्यस्त। छोरीको हेरचाह आमाले गर्छिन् ।
सबै कुरा ठीकैजस्तो देखिन्छ—छोरी सुरक्षित छिन्, पढिरहेकी छिन्, आवश्यक सबै कुरा पाएकी छिन्।
तर केही दिन अगाडी बिहान एउटा सानो घटनाले मलाई भित्रैदेखि छोयो।
बुबाको मुख हेर्ने दिन। बिहानै छोरीले बुबालाई प्रत्यक्ष भेटेर अनुहार हेर्न पाइनन्। उनले फोन गरिन्, भिडियो कल गरिन् र भनिन् - ‘ड्याडी, आज बुबाको मुख हेर्ने दिन भएर फोन गरेको… Happy Father’s Day!’
त्यो क्षणमा एउटा प्रश्नले मलाई छोयो—एउटै घरमा बस्ने छोरीले पनि आफ्नो बुबाको मुख हेर्न फोन गर्नुपर्ने अवस्था आयो भने, हामीले सन्तानका लागि आखिर के कमाइरहेका छौँ?
हामी भन्छौँ—छोराछोरीको भविष्य राम्रो बनाउनुपर्छ। राम्रो शिक्षा दिनुपर्छ, राम्रो घर दिनुपर्छ, राम्रो सुविधा दिनुपर्छ। तर उनीहरूको बाल्यकालमा चाहिने सबैभन्दा ठूलो कुरा पैसा र सुविधा मात्रै हो त? कि बुबाको समय, आमाको काख, सँगै बसेर खाने एउटा खाना र ‘म तिमीसँग छु’ भन्ने अनुभूति पनि उत्तिकै आवश्यक छ?
यही प्रश्नले केही वर्षअघि मलाई एउटा छोटो फिल्म बनाउन बाध्य बनाएको थियो—‘आराध्या’।
करिब ३/४ वर्षअघि बनाएको त्यो फिल्मको कथा काल्पनिक पात्रहरूमार्फत भनिएको भए पनि त्यसको आधार भने वास्तविक जीवनमै भेटिएका घटनाहरू हुन्।
छोराछोरीको भविष्य राम्रो होस् भनेर बुबाआमाले उनीहरूलाई गाउँबाट सहर ल्याउँछन्। बुबा आफ्नो भविष्य बनाउन होइन, छोराछोरीको भविष्य बनाउन २४ घण्टा दौडिरहेका हुन्छन्। आमा पनि घर र जिम्मेवारीमा व्यस्त हुन्छिन्। छोरीको हेरचाहका लागि अर्को मान्छे राखिन्छ।
नानीले सबै सुविधा पाउँछे। राम्रो खाना पाउँछे। राम्रो कपडा पाउँछे। आवश्यक सबै कुरा पाउँछे।
तर एउटा कुरा पाउँदिन—आफ्ना बुबाआमाको समय र माया। र बिस्तारै, त्यही बच्चा सबै मान्छेहरूका बीचमा भएर पनि एक्लिँदै जान्छे।
मैले वास्तविक जीवनका यस्तै घटना, बालबालिकाको भावनात्मक विकाससँग जोडिएका तथ्य र उनीहरूले परिवारबाट पाउने समय तथा मायाको महत्वबारे अध्ययन गरेपछि ‘आराध्या’ बनाएको थिएँ। किनकि बच्चालाई सुविधा दिएर हुर्काउनु र बच्चासँगै बसेर हुर्कनु एउटै कुरा होइन। आज फेरि त्यही भिडियो कलले मलाई पुनः ‘आराध्या’ सम्झायो।
हामीमध्ये धेरै अभिभावक छौँ, जो आफ्ना छोराछोरीका लागि दिनरात दौडिरहेका छौँ। तर कहिलेकाहीँ एकपटक रोकिएर हेर्नुपर्ने हुन्छ—हामी उनीहरूको भविष्य बनाउँदै गर्दा कतै उनीहरूको वर्तमान त खोसिरहेका छैनौँ?
सायद यो प्रश्नको उत्तर हरेक परिवारले आफैँभित्र खोज्नुपर्छ।
‘आराध्या’ मेरो लागि एउटा छोटो फिल्म मात्रै हैन, रमाइलो काम होइन, थिएन । यो एउटा प्रश्न हो—सन्तानलाई हामीले के दिइरहेका छौँ, र उनीहरूले वास्तवमा के खोजिरहेका छन्?
फिल्म YouTube मा छ। समय मिलाएर एकपटक हेर्नुहोला। विशेषगरी आफ्ना सन्तान हुर्काइरहेका परिवारले।