01/04/2026
एमालेहरुको चर्तिकला देख्दा अचम्म लाग्दो छ । बादलमा हत्या हिंसाको राजनीतिक पृष्ठभूमि लगायत वाकपटुता कमजोर छ । यसैले संसदिय दलको नेतामा हुनुपर्ने प्रचुर क्षमता उनमा नभएको सत्य हो । साथमा बादलकै आड भरोसामा पूर्व माओवादी पृष्ठभूमिका कैयन मान्छे एमालेमा समाहित भएको पनि सत्य हो । स्वविवेकले संसदीय दलको नेतामा अलि प्रखर वाकपटुता भएको व्यक्तिलाइ बादलले छोडेको भए व्यक्तिगत रुपमा उनको ओजलाइ राम्रै हुन्थ्यो। राजनैतिक कदको कुरा गर्दा उनको कद त्यो पद भन्दा माथिल्लै दर्जाको हो भन्ने मान्न सकिन्छ ।
संसदीय दलको नेतामा नाम आएका अर्का व्यक्ति सुहांग नेम्वाङ हुन । उनको शालीनता र भद्रता उच्चस्तरको छ , दुइमत छैन । तर संसदीय दलको नेता हुन जुन लेभलको प्रतिवाद गर्ने खुबी चाहिन्छ, त्यो उनमा अझै देखिंदैन । उनको पृष्ठभूमि पनि सुवास नेम्वाङको विरासतको जगमा तैयार भएको हो । अन्यथा यति सजिलै सांसद बन्न उनलाइ कठीन थियो। पहिलो पटक चुनाव लड्दा नै मैले मदनको नामले विद्या, प्रचण्डको नामले रेणु वा बिना र सुवासको नामले सुहांग राजनीतिमा प्रतिस्थापित हुनु भनेको नेपोटिज्म नै हो भनेको थिएं । जसरी बने , आफ्नो रोलमा राम्रै देखिएको तथा शालीनताले सुहांगलाइ व्यक्तिगत रुपमा धेरैले रुचाउंछन ।
संसदीय दलको चुनावमा बादलले इक्षा जनाए पछि , उनलाइ तं हुन्नस सुहांग ठीक भन्न नैतिक रुपले पनि एमाले नेतृत्वलाइ कठिन थियो। यदी नेतृत्वले बादललाइ किनारा लगाएर सुहांगलाइ दिएको भए , माओवादीबाट एमालेमा प्रवेश गरेको पुरै तप्का बिच्किन्थ्यो। प्रचण्डहरुले भोलीबाटै देख्यौ भाग खोज्न एमालेमा गएका थियौ ,आज पुरै उपेक्षित भयौ । एमालेमा तिमीहरुको कुनै अस्तित्व छैन भनेर माओवादीहरुले सिंगो एमालेलाइ खसाल्ने र बादलहरु प्रति कटाक्ष गर्थे ।
बादलले उठ्न चाहेपछि नेतृत्वले बादलकै समर्थन नैतिक रुपमा गर्नै पर्थ्यो अन्यथा शंका उपशंका हुंदै एउटा विभाजनको रेखा कोरिन्थ्यो । नेतृत्वले शंका उपशंका निवारण र बैरीहरुको मुख थुन्नलाइ चाहेर पनि सुहांगको पक्षमा वकालत गर्न कठीन थियो। सुकेर सिन्को जत्रो भएको पार्टीलाइ अरुबढि खियाउने वा चोइट्याउने जोखिम लिन नेतृत्वले चाहेन र सुहांगलाइ उमेर छ, फेरी फेरी आउने अवसरको लागि अग्रसर हुन आग्रह गर्यो ।
एमालेमाथि अहिले चौतर्फी आक्रमण छ, विशेष गरेर केपी ओली माथि। बाह्य आक्रमण त स्वभाविक पनि छ तर पार्टी भित्रैका प्रतिपक्षहरुले भांडभैलो नै मच्चाएका छन । त्यसरी भांडभैलो मच्चाउनेहरु जग जाहेर छन । एमालेलाइ शुद्धीकरण गर्न एमाले भित्रका प्रतिपक्षहरुलाइ आउट गर्नैपर्छ अन्यथा,उप्रान्त एमाले कहिल्यै उठ्न सक्दैन । एमाले भित्रैका प्रतिपक्षहरु कतै एमाले सिध्याउन परिचालित र होइनन भने जस्तो देखिन्छ। एमाले नेतृत्व किंकर्तव्यविमुढ बनेको छ । सुहांगलाइ बनाए पनि अहिलेभन्दा ठूलो विरोध हुन्थ्यो, सुहांगलाइ नबनाउंदा पनि भै रहेको छ ।
आर्को कुरा राजनितीमा उमेर प्रधान होइन । नेपालमा नयां वा
युवा भन्नेहरु सबै कि मोदिबाट,कि जिनपिङबाट,कि पुटिनबाट वा ट्रम्पबाट गाइडेड छन । सबैको उमेर 75 माथि छ । नयां पुरानोको सामन्जस्यता ठीक छ तर पुराना खराब र नयां असल भन्ने भाष्य गलत छ । राजनितीमा वाद वा उमेर भन्दा इक्षाशक्ति, सक्रिय ब्रेन,इमानदारिता , सृजनात्मकता र प्रवृत्ति प्रधान कुराहरु हुन । प्रवृत्ति राम्रो भएमा प्रणाली आफसेआफ विकसित हुन्छ ।