30/05/2024
आर्थिक ऐन २०८१ ले दिएका छुट सुविधाहरू
२२. करको दायरामा आउनेलाई छुट दिने सम्बन्धी व्यवस्थाः
(१) कुनै व्यक्तिले विगतमा कर लाग्ने आय आर्जन गरेको तर स्थायी लेखा नम्बर नलिएको भए त्यस्तो व्यक्तिले स्थायी लेखा नम्बर लिई आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को बुझाउनु पर्ने आय विवरण र सोमा लाग्ने कर संवत् २०८१ साल फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुनेछ ।
(२) उपदफा (१) बमोजिम आय विवरण र सो बमोजिम लाग्ने कर बुझाएमा सोभन्दा अघिका आय वर्षहरुको आय विवरण र सोमा लाग्ने कर, शुल्क तथा ब्याज बुझाउनु पर्ने छैन।
२३. आय विवरण बुझाउन बाँकी करदातालाई छुट दिने सम्बन्धी व्यवस्थाः स्थायी लेखा नम्बर लिई आय विवरण बुझाउन बाँकी
रहेको करदाताले आय विवरण, सो आय विवरण अनुसारको आयकर र सोमा लाग्ने ब्याजको पच्चीस प्रतिशतले हुने रकम संवत् २०८१ साल फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी ब्याज मिनाहा हुनेछ ।
२४.मूल्य अभिवृद्धि कर विवरण पेश नगर्ने करदातालाई छुट दिने सम्बन्धी व्यवस्थाः संवत् २०८० साल असार मसान्तसम्मको मूल्य अभिवृद्धि कर विवरण पेश नगर्ने मूल्य अभिवृद्धि करमा दर्ता भएको करदाताले आफूले बुझाउनु पर्ने कर विवरण, सो कर विवरण अनुसारको मूल्य अभिवृद्धि कर र सोमा लाग्ने ब्याजको पचास प्रतिशतले हुने रकम संवत् २०८१ साल फागुन मसान्तभित्र बुझाएमा सोमा लाग्ने जरिवाना, थप दस्तुर तथा बाँकी ब्याज मिनाहा हुनेछ ।
२५. अन्तर्राष्ट्रिय हवाई यातायात सेवा प्रदायकलाई मूल्य अभिवृद्धि कर छुट सम्बन्धी व्यवस्थाः (१) मूल्य अभिवृद्धि करमा दर्ता भएका वा नभएको अन्तर्राष्ट्रिय हवाई यातायात सेवा प्रदायक व्यक्तिले संवत् २०८० साल जेठ १५ गतेदेखि संवत् २०८० साल असोज मसान्तसम्मको अवधिमा हवाई यातायात सेवामा सङ्कलन गर्नु पर्ने मूल्य अभिवृद्धि कर सङ्कलन नगरेको वा दाखिल नगरेको भएमा त्यस्तो मूल्य अभिवृद्धि कर, जरिवाना, थप दस्तुर तथा ब्याज मिनाहा हुनेछ ।
(२) नेपालबाट उडान सुरु नगर्ने अन्तर्राष्ट्रिय हवाई यातायात सेवा प्रदायक (अफलाईन एअरलाईन्स) ले संवत् २०८० साल जेठ १५ गतेदेखि सङ्कलन गरेको मूल्य अभिवृद्धि कर संवत् २०८१ साल असार मसान्तसम्म मूल्य अभिवृद्धि करमा दर्ता भई बुझाएमा सोमा लाग्ने ब्याज, जरिवाना, थप दस्तुर मिनाहा हुनेछ ।
२६. ढुवानी सेवाको कारोबार गर्ने व्यक्तिलाई मूल्य अभिवृद्धि कर मिनाहा सम्बन्धी व्यवस्थाः (१) मूल्य अभिवृद्धि करमा दर्ता भई कारोबार गर्नु पर्ने ढुवानी साधनको भाडा तथा ढुवानी सेवाको
कारोबार गर्ने व्यक्तिले संवत् २०७६ साल जेठ १५ गतेदेखि संवत् २०७८ साल जेठ १४ गतेसम्म मूल्य अभिवृद्धि करमा दर्ता भई वा नभई मूल्य अभिवृद्धि करयोग्य कारोबार गरी कर सङ्कलन नगरेको भए सो कारोबार रकमको एक प्रतिशतले हुने रकम संवत् २०८१ साल मंसिर मसान्तसम्म दाखिला गरेमा सोमा लाग्ने बाँकी कर, थप दस्तुर, ब्याज र जरिवाना मिनाहा हुनेछ ।
(२) उपदफा (१) बमोजिमको कारोबारमा कर निर्धारण भई बक्यौता रहेको वा सो उपर प्रशासकीय पुनरावलोकन वा अन्य न्यायिक निकायमा विचाराधीन मुद्दा फिर्ता लिई कारोबार रकमको एक प्रतिशतले हुने रकम संवत् २०८१ साल मंसिर मसान्तसम्म दाखिल गरेमा बाँकी कर र सोमा लागेको थप दस्तुर, ब्याज र जरिवाना मिनाहा हुनेछ ।
२७.आलु, प्याज तथा स्याउको आन्तरिक उत्पादनमा मूल्य अभिवृद्धि कर छुट सम्बन्धी व्यवस्थाः नेपालमा उत्पादन भएका आलु, प्याज तथा स्याउको कारोबार गर्ने व्यक्तिले संवत् २०८१ साल जेष्ठ १४ गतेसम्म त्यस्तो कारोबार गरे बापत लाग्ने मूल्य अभिवृद्धि कर सङ्कलन नगरेको भए त्यस्तो कर रकम र सो कारोवारमा आन्तरिक राजस्व कार्यालयबाट कर निर्धारण भई बुझाउन बाँकी रहेको मूल्य अभिवृद्धि कर र सोमा लागेको ब्याज, थप दस्तुर र जरिवाना मिनाहा हुनेछ ।