01/03/2024
चेतना भएको र अनुशासन भएको मानवलाई धर्मको ज्ञान हुन्छ। अर्थात् मानव भएपछि के गर्न हुन्छ के गर्न हुँदैन भन्ने कुरा सबै थाहा हुन्छ। उनीहरूलाई कसैले सिकाउन नै पर्दैन धर्म के हो के हैन भनेर। यो संस्कार उनीहरूले जन्मदेखि नै लिएर आएका हुन्छन्।
हामी भने नियम कानुन व्यक्ति अनुसार तोड मोड गर्दिन्छौ। धनीको छोरा छोरी भए कानुन कमजोर भइदिन्छ। गरिबको छोरा छोरी भए कानुन बलियो भइदिन्छ। बाटो काट्न आकाशे पुल नै बनाएपनि हामि जथाभाबी बाटो काट्दिन्छौ। यो कानुनको राज्यमा जब कानुन भन्दा पैसा शक्तिशाली हुन्छ तब कानुन अन्धो नै बन्न पुग्छ। तर धर्म कर्म अन्धो हुँदैन। यो प्राकृतिक नियम हो। कसैको पैसा र शक्तिले प्राकृतिक नियम तोड्न सक्दैन।
मान्छे भएर जन्मेपछि एक दिन मर्नै पर्छ। धनी होस कि गरिब होस मर्ने पर्छ। नराम्रो कर्म गरेपछि भोग्नै पर्छ धनी होस कि गरिब होस भोग्नै पर्छ। आफ्नो मर्यादामा बस्ने रामलाई नि रावणहरूको अहङ्कारले बाध्य बनाएपछि मात्रै धनुष उठाउँछन्। रावणहरू कुनै मूर्ख हुँदैनन् बरु विद्वान पण्डित नै हुन्छन्। धन र शक्तिले मात्तिएपछि उनीहरुको बुद्धि नै भ्रष्ट हुन पुग्छ। के गर्न हुन्छ के गर्न हुँदैन भन्ने सबै थाहा हुँदा हुदैपनि धर्म त्याग्न पुग्छन्। तब बल्ल रामले धनुष उठाउँछन्।