20/02/2026
🗳️ तपाईंको हरेक कारोबार एउटा 'भोट' हो: जवाफदेहिता कि बेथिति तर्फ ?🇳🇵
चुनाव आउँदैछ, र हामी फेरि उही 'मासुभात' र क्षणिक प्रलोभनको चर्चा गर्दैछौँ। तर के तपाईंलाई थाहा छ? बजारमा सामान किन्दा बिल नमाग्नु, र चुनावमा ५ हजारमा भोट बेच्नु एउटै कुरा हो। दुवैले देशलाई खोक्रो बनाउँछन्। पसलको विवरण लेख्ने ठाउँमा भगवानको नाम लेखेर 'नक्कली बिल' दिई सोझा जनतालाई झुक्याउने काम भइरहेको छ।
हाम्रो अनुभव: Parajuli Wholesale Mart मा जे देख्यौं
हामीले जब ग्राहकलाई अनिवार्य बिजक (Invoice) दिन खोज्यौं र सप्लायर्ससँग भ्याट बिल माग्यौं, धेरैले यसलाई बेवास्ता गरे। मान्छेहरू सोध्छन्— "यो बिलले मैले के पाउँछु? केही उपहार वा डिस्काउन्ट पाइन्छ?" यो अज्ञानता नै नेपाल पछि पर्नुको मुख्य कारण हो।
डिस्ट्रिब्युटरहरू भन्छन्— "बजारमा कसैले बिल माग्दैन, यसरी नै चलेको छ, यसको बिल दिन सकिँदैन। यदि बिल नै चाहिने हो भने पराजुली मार्टमा नबेच्नुस्, अरूले बेचिरहेका छन्।" हामी त चेपुवामा परियो! ग्राहक सोध्छन्— "तपाईंको पसलमा यो सामान किन छैन? अन्त त पाइरहेको छ नि!" तर कसैले बुझ्दैनन्— हामीले बिल नपाउने सामान राख्दैनौँ।
दे-हात संस्कृति र देहातको नियति
बजारमा अहिले एउटा खतरनाक खेल चलिरहेको छ— "एक हात ले, अर्को हात दे"। रसिद चाहिँदैन, बिल चाहिँदैन—बस, ले हात-दे हात गरौँ, सकियो! यही 'दे-हात' संस्कृतिले गर्दा नै हाम्रो समाज अझै 'देहात' (पिछडिएको) भइरहेको छ। जहाँ कारोबारको हिसाब हुँदैन, त्यहाँ विकास हुँदैन। हिसाबको ज्ञान भयो भने त विकास हुन्छ, त्यसैले देशलाई विकास हुन नदिन यहाँ देहात बनाइराख्न जरुरी छ।
बिल नलिनुको मूल्य तपाईंका भाइ-भतिजाले चुकाउँदैछन्
यता ग्राहक बिल बिना सामान किन्छन्, उता त्यही खुल्ला सिमानाबाट अवैध रूपमा भित्रिएका लागु औषध र घातक वस्तुले हाम्रा भाइ-भतिजा र युवा पुस्तालाई दुर्व्यसनीमा होम्छन्। सामान ल्याउने र लाने गिरोह एउटै हुन्छन्। तपाईंले बिल नमाग्नु भनेको तपाईंको पैसा नगरपालिकाको ढुकुटीसम्म नपुग्नु हो। त्यही पैसा भोलि हतियार तस्करी, विषाक्त खानेकुरा र भ्रष्टाचार बढाउन प्रयोग हुन सक्छ। भ्रमबाट मुक्त होऔँ, बिल लिँदा सामान महँगो पर्ने होइन, यो बजारमा फैलाइएको गलत हल्ला मात्र हो।
किन जरुरी छ हरेक बिल?
देशको हिसाब मिल्छ: थोपा थोपा मिलेर नारायणी बने जस्तै, हरेक एउटा बिलको रेकर्डले देशको 'Transactional Dataset' बलियो बनाउँछ। जबसम्म राज्यसँग सही तथ्याङ्क हुँदैन, तबसम्म विकासको योजना बन्दैन। योजना त बन्छन्, तर मन न हो—मनलाग्दी बनिदिन्छ। यो चञ्चल मनको के भरोसा? त्यसैले हामीलाई 'भावना' होइन, 'डाटा' र 'सिस्टम' चाहिन्छ। एउटा बिलले त्यही सिस्टमको जग बसाल्छ।
तथ्याङ्क बोल्छ (Data Speaks):
यस आर्थिक वर्षको फागुन ८ गतेसम्म मात्र Parajuli Wholesale Mart को एउटै शाखाले ५५,००० (पचपन्न हजार) भन्दा बढी बिलहरू काटेको छ। कल्पना गर्नुस्, एउटै पसलले यति पारदर्शी कारोबार गर्दा देशलाई कति फाइदा हुन्छ? यदि पर्साबजारका सबै पसलले यसरी नै हिसाब राख्ने हो भने हाम्रो क्षेत्रको कायापलट हुनेछ।
हामी १००% शतप्रतिशत सफल हुन नसकौला, तर 'डिस्टिन्सन' (८०%) त ल्याउन सक्छौ नि!
कसले बुझ्ने यो कुरा? हामी एक्लै भए पनि यो बाटोमा लागिरहनेछौँ। "हाम्रो बाटो, नेपाली माटो"—स्वच्छ र पारदर्शी नेपालको लागि।
तपाईंको साथ र सहयोगको लागि हृदयदेखि धन्यवाद। यसपालि भोट मात्र होइन, 'भ्याट बिल' पनि सोचविचार गरेरै मागौँ।