29/01/2026
सहिद गङ्गालाल प्रति हार्दिक श्रद्धाञ्जली
बि.सं. १९९७ माघ १५ सहिद गङ्गालाल श्रेष्ठ तथा सहिद दशरथ चन्द ठकुरीलाई शोभाभगवतीमा गोली हानिएको थियो । यसरी राणाशासन बिरुद्ध जनतालाई लाग्न प्रेरित गर्ने तथा उनिहरुबाट भइरहेको दासताबाट मुक्त गराउन लागेका दुइ गङ्गालाल तथा दशरथ चन्द देशका लागि शहीद भएका थिए ।
शहीद गङ्गालालको जन्म बि.सं. १९७५ सालमा बुबा भक्तलाल श्रेष्ठ तथा आमा तुलसीमाया श्रेष्ठको जेष्ठ सुपुत्रका रुपमा रामेछाप जिल्लाको भंगेरी गाउँमा भएको थियो । बुबा भक्तलाल सरकारी जागीरे भएको हुँदा जागीरकै सिलसिलामा बडाहाकिम भएर रामेछाप पुग्नु भएको थियो । रामेछापको भंगेरीमा वहाँको बसाइ थियो । यहिँ भंगेरीमा रहँदा नै शहीद गंगालाल र माहिला भाइ पुष्पलालको जन्मभएको थियो । भक्तलालको जेठी श्रीमतीबाट पाँच छोरा र तीन छोरीको जन्मभएको थियो भने कान्छी श्रीमतीबाट पनि आठ सन्तान थिए । भक्तलालको पुर्ख्यौली थलो कीर्तिपुर भए पनि बसोबास भने काठमाडौको डिल्लीबजारमा थियो ।
शिक्षित तथा जागीरे परिवारको रहेको हुँदा बाल्यकालको शिक्षा घरमा नै भए पनि पछि पढाइकै लागि कलकत्तामा पठाइएको थियो । सो समय वहाँको साहिला बुबा शंकरलाल कलकत्तामा डाक्टरी पढिरहनु भएको हुँदा त्यहाँ बसेर पढ्न सहज भएको थियो । कलकत्ता बसाइमा सहज होस भनेर घरकै बज्यै पनि खाना पकाइ सहयोग गर्न उतै बस्नुभएको थियो । तीन वर्षको कलकत्ता बसाइ पछि पून काठमाडौ फर्किएर दरवार हाई स्कुलमा भर्ना हुनु भएको थियो । वहाँले दरवार हाईस्कुलबाट नै बि.सं. १९९४ मा प्रथम श्रेणीमा (बोर्ड सेकेन्ड भन्ने गरिएको छ) म्याट्रिक उतिर्ण गर्नुभएको थियो । यसपछि त्रीचन्द्र कलेजमा आइएस्सीमा भर्ना हुनु भइ पढ्न थाल्नुभएको थियो ।
शहिद गङ्गालाल तथा माहिला भाइ पुष्पलाल, बुबा र आमासंग सिन्धुपाल्चोक जिल्लाको चौतारा पनि बस्नुभएको थियो । वहाँहरु बस्ने गर्नुभएको घर भने पछि सडक सञ्जाल जोडिने समय मापदण्डमा परि भत्काइएको थियो ।
कलेजमा पढ्दै गर्दा नै राणाविरोधी भावना जागृत भइ सक्रिय हुनुभएको थियो । बि.सं. १९९४ जेठमा महावीर स्कूल (इन्स्टिच्यूट) को स्थापना भएको थियो । यसै स्कुलमा पढाउनका लागि गङ्गालाल पनि पुगेका थिए । तर त्यहाँ प्रधानाध्यापक चिनियालाल सिंहसंग भने वहाँको केही सिद्धान्त मिलेको थिएन । चिनियालाल, साना साना बच्चाहरुलाई पढाएको साथ राणाविरोधी जानकारी पनि दिइ बिस्तारै राणाशासन हटाउने भन्दथे । गङ्गालाल भने त्यति लामो समय कुर्न चाहन्नथे । नतिजा छिट्टै आउनु पर्दछ भन्ने सोचमा थिए ।
यस स्कूलका शिक्षकहरु राणाविरोधी जनचेतना प्रचारमा लागिरहेका थिए । यसै स्कुलमा सक्रिय चिनियालाल सिंह संस्थापक थिए । त्यसैले प्रधानाध्यापकका रुपमा हुनुहुन्थ्यो । अन्यमा गङ्गालाल बाहेकमा पनि फत्तेबहादुर सिंह, पूर्णबहादुर मानव, टंकविलास, बाक्पतिराज, ईन्द्रप्रसाद, सिद्धिचरण श्रेष्ठ, सूर्यबहादुर भारद्वाजले पढाउन थालेका थिए । यता नेपाल प्रजा परिषदको पनि स्थापना भइसकेको थियो । यस्तैमा १९९५ कार्तिक २ गते शुक्रराज शास्त्रीले इन्द्रचोकमा गीताको प्रवचन दिएर राणाविरोधी प्रचार गरेको अभियोगमा समातिँदा गंगालाल पनि शुक्रराजको सहयोगी भएको देखेर समातिएका थिए । शुक्रराजलाई तीन वर्ष कैद सजायँ तोकियो तर कुनै प्रमाण नभेटिँदा गंगालाल भने केही दिन पछि छुटे ।
पछि पून बि.सं. १९९७ मा राणा बिरोधी आन्दोलनमा लागेकाहरुको धरपकड शुरु भयो । जताततै जासुसहरु लगाइएका थिए । पहिले महावीर स्कूलका शिक्षकहरु समातिए । त्यहि समातिएका मध्य गंगालाल पनि एक थिए । उता नेपाल प्रजा परिषदका सदस्यहरु पनि समातिए । गङ्गालाल भने प्रजापरिषदको सदस्यता लिएको केवल दुइ महिना मात्र भएको थियो । तसर्थ प्रजापरिषदको सदस्यका रुपमा पनि वहाँलाई समाइएको थियो ।
प्रजा परिषद, राणाशासनको अन्त्यका लागि जनतामा जागरुकता ल्याउन नै गठन भएको थियो । यसको गठन बि.सं. १९९३ साल जेठ २२ गते दशरथ चन्द, टंकप्रसाद आचार्य, धर्मभक्त माथेमा, रामहरी शर्मा तथा जीवराज शर्माहरु पाँच जनाको सानो समुहको रुपमा भएको थियो । यो समुहले गोप्य रुपमा पर्चा छाप्ने र यसको वितरण गर्ने कार्य गर्दथ्यो । यसरी भित्र भित्र काम गरिरहेको यो समुहका धर्मभक्त माथेमा १९९७ कार्तिक २ गते महावीर स्कुलका शिक्षकहरु समातिएको समय नै समातिएका थिए । धर्मभक्त समातिए पछि प्रजापरिषदको गोप्य कार्यालय रहेको ओमबहालमा रहेको धर्मभक्तको फूपुको घरमा छापा मार्न पुलिस ठानाका तालुकवाला जर्नेल नरशम्शेर स्वयं पुगेका थिए । वास्तवमा प्रजापरिषदमा सदस्यका रुपमा शुक्रराजले पठाएका शुक्रराजका भाइ रामजी जोशीले राणा सरकारले प्रजापरिषदको बारेमा सूचना दिनेलाई रु ५००० पुरस्कार दिइने भन्ने लोभमा राणासरकारका पुलिस ठानाका नरशम्शेरलाई जानकारी गराएका थिए । साथै फूपुको घर भेटिएको केही टिपोटका आधारमा प्रजापरिषदमा जोडिएका अन्य दशरथ चन्द, पूर्णनारायण, रामहरी शर्मा, गणेशमानसिंह, चूडाप्रसाद लगायत धेरै जना समातिएका थिए । टङ्कप्रसाद दुइ हप्ता अगाडि मात्र भारत तर्फ गएको हुँदा बुबा विरामी भएको भन्ने झुठा समाचार पठाएर नेपाल बोलाइ पछि समातिएको थियो । गङ्गालाल महावीर इन्स्टिच्यूटमा आबद्ध भए तापनि दुइ महिना अगाडि मात्र प्रजापरिषदको सदस्यता पनि लिएका थिए ।
यसरी समातेर जेलमा राखिएका प्रजापरिषदका सदस्यहरु तथा महावीर इन्स्टीच्यूटका शिक्षकहरु बिरूद्ध मुद्दा चलाइयो । अन्तत १९९७ माघ ७ गते राणा प्रधानमन्त्री जुद्धशम्शेरले त्यतिबेलाका कमाण्डिङ अफिसर पद्मशम्शेर र चारै कमाण्डिङ जनरलहरु मोहनशम्शेर, बबरशम्शेर, बहादुरशम्शेर, केशरशम्शेर र वडागुरुज्यूसमक्ष सिंहदरबार बैठकमा यस प्रकारको फैसला सुनाइएको थियो । सो दिन फैसला सुनाउने भने बिहानी समय दिइए पनि श्री ३ जुद्धशमशेरको आगमन नभएको हुँदा ढिलो गरि सजायँ सुनाइएको थियो । सजायँ सुनाइएका मध्य शुक्रराज, धर्मभक्त, दशरथ चन्द, गङ्गालाल तथा पूर्णनारायणलाई सर्वस्व सहित ज्यान सजायँ, टंकप्रसाद, रामहरी शर्मालाई सर्वस्व सहित दामल गर्ने, गणेशमानसिंह, चूडाप्रसाद, हरिकृष्ण, गोविन्दप्रसाद, पुष्करनाथ, बलबहादुरलाई सर्वस्वहरण सहित जन्मकैद तथा जीवराज शर्मालाई १८ वर्ष कैद सजायँ तोकिएको थियो ।
यसमा ज्यान सजाय सुनाइएका पूर्णनारायणलाई फाँसीमा झुन्ड्याउने १९९७ माघ १९ गते श्रीपंचमीको दिन तय भएको थियो । त्यस दिन नयाँसडकको गेट नजिकै बाँस गाड्दै गरेको जुद्धशम्शेरले देखेपछि सोधे, "के गर्न लागेको ?" सिपाहीले "फाँसी दिनको लागी बाँस काट्दै गरेको सरकार" भन्ने सुनेपछि उनले भने श्रीपंचमीमा पनि कसैलाई फाँसी दिन्छ, उनलाई आजन्म कैदमा राख्ने निर्णय गरेँ भनेर हिडेछन । जसले गर्दा पूर्णनारायण आजन्म कैदमा राखियो । प्रजातन्त्रको प्राप्ती पछि उनि जेल मुक्त भए ।
मृत्युदण्ड सुनाइएका मध्य सबैभन्दा कान्छो गङ्गालाल थिए । उनको विवाह भएको पनि धेरै भएको थिएन । पत्नी हसनादेवी प्रजापरिषदकै अर्का सदस्य हरिकृष्ण श्रेष्ठको मामाको छोरी थिइन् । मृत्युदण्ड दिने दुइ दिन अगाडि मात्र सुत्केरी भएकी थिइन् । छोरा जन्मेको खवर जेलमा पठाइए पछि छोराको नाम शशी राख्न गङ्गालालले भनिए पछि शशीलाल नाम राखिएको थियो ।
मृत्युदण्डको अघिल्लो दिन परिवारका सदस्य भेट्न बोलाइँदा पत्नी हसना सुत्केरी भइ जान नसक्ने भए पछि माहिलो भाइ पुष्पलाल, अर्का भाइ विजयलालका साथ हटकेशमा खाना लिएर त्रिपुरेश्वर पुगेका थिए । सो समय दाजु गङ्गालालले भाइ पुष्पलाललाई ‘मैले बालेको प्रजातन्त्रको दियो निभ्न नदिएस् !’ भनेका थिए ।
गङ्गालाल र दशरथ चन्दको मृत्युदण्ड तोकिएको रात ११ बजे दुबैको आँखामा पट्टी बाँधेर सेन्ट्रल जेल रहेको टेकुबाट लरीमा राखेर दशरथ चन्दका साथ प्याफलको बाटो भएर विष्णुमतीको किनार शोभाभगवती मन्दिर नजिकै लगिएको थियो । गङ्गालालले प्याफलमा आफ्नो घर नजिकै लरी पुग्दा श्रीमतीको मायाले अन्तिम पटक, हसना ! हसना ! भनेर बोलाएका थिए । मध्यरातमा त्यो आवाज विलिन भयो । तर त्यो प्रेमको सम्झना सदैव यादगार भएर रह्यो ।
गङ्गालालका फूपाज्यू कर्णेल गङ्गाबहादुर बस्नेत हुनुहुन्थ्यो । वहाँले कैदीको बयान लिने काम गर्नुहुन्थ्यो । त्यसैले माफी मागेमा माफ गराइदिने भनिएको थियो । तर गङ्गालालले माफ मागेर जिउन चाहेनन् । अन्तमा घर नजिकै पुगेपछि पत्नी र भर्खर जन्मेको छोराको मायाले भए पनि माफी माग्न सक्ने अडकलमा अन्तिम पटक लरीमा राखेर घर नजिकैबाट लगिएको थियो । तर पनि अन्तिम पटक सोध्दा पनि माफ माग्न चाहेनन् ।
बिहानी पख दुइवटा खाँबोमा गङ्गालाल र दशरथ चन्दलाई बाँधियो । त्यसपछि अन्तिम अवसरको रुपमा माफी माग्न भनियो, तर दुवैले माफी माग्न मानेनन् । उल्टै नरशमशेरलाई गाली गर्न थाले । अन्तमा ज्यान सजायँ दिइने भए पछि, अन्तिम इच्छाका रुपमा दशरथ चन्द र गङ्गालालले एकसाथ मर्न पाउँ भने पछि एकैपटक गोली हान्ने तैयारी गरियो । नरशम्शेरले पोडेहरुलाई गोली हान्न आदेश दिए । दशरथलाई गोली हान्ने पोडे सिपालु थिए, यसैले एकैपटकमा मृत्यु भयो । गङ्गालाललाई गोली हान्ने रत्नमान पोडे भने अन्तिम समयमा काँपे । त्यसैले उनले हानेको गोली तिघ्रामा लाग्यो, रगतको भल छुट्यो । चोटले ऐया गर्दै गङ्गालालले नरशम्शेरलाई "मर्दको छोरा होस भने छातीमा गोली हान" भनेर चिच्याए । फेरी दोश्रो गोली पोडेले हाने त्यो पनि काखीमा लागेर पछाडी छिर्यो । त्यसपछि रत्नमान डरले भागे । पछि फेरी नरशम्शेरले पोडेलाई समाएर ल्याएर पिस्तोल हातमा ठम्याइ आफैले ट्रिगर तानेर यसरी हान्नुपर्छ भन्दे छातीमा ताकेर गोली हाने । गङ्गालालको आवाज सदाका लागि बन्द भयो । केवल २२ वर्षका होनहार युवा सदाको लागी बिदा भए । देशको लागी सहिद भए ।
शहीदहरुलाई मृत्युदण्ड दिन जल्लादहरुको नाइके भएर त्यसबेलाका पुलिस ठानाका तालुकवाला नरशमशेर पुगेका थिए । यसैले काठमाडौका नेवारहरुले नरशमशेरलाई नरपिशाच भन्ने गर्दछन् ।
तस्विरमा सबैभन्दा बाँया सेतो शर्त र सेतो पाइन्टमा शहीद गङ्गालाल श्रेष्ठ ।