09/10/2015
देश कसरि कंगाल भएको छ
पर निर्भर ले गर्दा हामी कति सम्म गिरेका रहेछौ अब त प्रस्ट भयो होला नि हैनर l अब अरुलाई गाली गर्ने हैन आत्मा निर्भर हुने तिर सोचौ
विश्वमा नेपाललाई धनी भनेर चिनिने एक्लो वस्तु पानी हो। जलस्रोतका हिसाबले नेपाल विश्वको दोस्रो ठूलो देश हो। तर यही देशमा गत वर्ष १ करोड ८४ लाख २ हजार १ सय ८० रुपैयाँको पानी आयात भएको तथ्यांक छ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको गत आर्थिक वर्षको तथ्यांक अनुसार अघिल्लो वर्षसम्म लाखमा सीमित पानी आयात गत आर्थिक वर्षमा करोड नाघेको छ।
नेपालले पानी ल्याउने देश ९ भन्दा धेरै छन्। केन्द्रको तथ्यांक अनुसार चीन, मलेसिया, फिलिपिन्स, युएई, भारत, फ्रान्स, बेलायत, थाइल्यान्ड र अमेरिकाबाट पानी आयात गरिएको छ। ती देशबाट विभिन्न ३ शीर्षकमा पानी आयात गरिएको छ।
मिनरल वाटर शीर्षकमा १० लाख ४ हजार १ सय रुपैयाँको ४९ हजार ५ सय ४६ लिटर पानी आयात भएको तथ्यांक छ। मिनरल वाटर चीन, फिलिपिन्स, थाइल्यान्ड, भारत, फ्रान्स र बेलायतबाट ल्याइएको छ।
अर्को शीर्षक मिनरल वाटर (नट कन्टेनिङ सुगर, स्विटिङ म्याटर, नट फ्लेवर्ड) शीर्षकमा १ करोड ३४ लाख ४१ हजार रुपैयाँभन्दा बढीको पानी आयात भएको छ। यो शीर्षकमा ३ लाख ५६ हजार ३ सय ६ लिटर पानी चीन, मलेसिया, फिलिपिन्स, युएई, भारत, फ्रान्स र बेलायतबाट ल्याइएको छ।
पानी (इन्क्लुडिङ मिनरल वाटर एन्ड एरिटेड वाटर कन्टेनिङ एडेड सुगर अर अदर स्विटिङ म्याटर अर फ्लेवर्ड) शीर्षकको पानी ५३ लाख ९३ हजार ८ सय ५७ रुपैयाँको ५६ हजार ४ सय ३४ लिटर आयात भएको छ। यो चाहिँ चीन, फिलिपिन्स, युएई, भारत, अमेरिका, फ्रान्स र बेलायतबाट ल्याइएको केन्द्रको तथ्यांकमा छ।
जलस्रोतमा संसारकै धनीमध्येको देशमा किन आयात हुन्छ त पानी? केन्द्रका वरिष्ठ अधिकृत कृष्णराज बजगाईं भन्छन्, 'पाँचतारे होटल र ठुल्ठूला सेमिनारको लागि बाहिरबाट पानी ल्याइन्छ।'
देशमा रहेका पाँचतारे होटलले उच्च गुणस्तर र ब्रान्डका पानी खोज्ने भएकाले विदेशबाट आयात गरिएको हो। पाँचतारे होटलमा आउने कतिपय पर्यटकले अन्तर्राष्ट्रिय ब्रान्डको पानी खोज्छन्।
त्यस्तै विदेशी नियोग, अन्तर्राष्ट्रिय स्तरका सेमिनार, अन्तराष्ट्रिय गैरसरकारी संस्थाको केही कार्यक्रममा समेत विदेशी पानी प्रयोग हुन्छ।
१ अर्ब १७ करोडको जुस
केन्द्रको तथ्यांक अनुसार नेपालमा वाटर ननअल्कोहोलिक विभेरेज शीर्षकमा १ अर्ब १७ करोड ६२ लाख ५२ हजार रुपैयाँभन्दा बढीको सामान आयात भएको छ। वाटर, नन अल्कोहोलिक विभेजेज शीर्षकमा आउनेसामान खासगरी जुस र अन्य पेय पदार्थ हो।
तथ्यांक अनुसार नेपालले २० देशबाट यस्तो खालको सामान आयात गर्छ। बंगलादेश, चीन, जापान, कोरिया, मलेसिया, फिलिपिन्स, साउदी अरब, सिंगापुर, थाइल्यान्ड, युएई, भियतनाम, भारत, अमेरिका, अस्ट्रिया, फ्रान्स, इटाली, नेदरल्यान्ड, बेलायत, टर्की, अस्ट्रेलिया लगायत देशबाट जुस लगायत अन्य पेय आयात हुन्छ।
देशभित्रै सामान्य प्रविधिबाट जुस उत्पादन गर्न सकिन्छ। सामान्य प्रविधिबाट ताजा, स्वच्छ जुस उत्पादन गर्न सकिने भए पनि २० भन्दा धेरै मुलुकबाट जुस जस्ता पेय पदार्थ आयात गर्दा बर्सेनि १ अर्ब रुपैयाँभन्दा धेरै बाहिरिने गरेको छ।