10/06/2026
"देशभित्र पर्याप्त रोजगारीका अवसर सिर्जना हुन नसकेको अवस्थामा लाखौं नेपाली युवाको आशा र जीविकोपार्जनको आधार वैदेशिक रोजगार बनेको छ। यस्तो अवस्थामा वैदेशिक रोजगार क्षेत्रलाई केवल नकारात्मक रूपमा चित्रण गर्नु समस्याको समाधान होइन। गलत कार्य गर्ने व्यक्ति वा संस्थालाई कानुनी कारबाही हुनुपर्छ, तर सम्पूर्ण क्षेत्रलाई नै दोषी ठहर गर्नु न्यायोचित हुँदैन।
सरकारले सञ्चालन गर्ने श्रम गन्तव्यहरूमा समेत सीमित कोटा, लामो प्रतीक्षा, विभिन्न शुल्क तथा जटिल प्रक्रियाका कारण धेरै युवाले वर्षौंसम्म अवसरको प्रतीक्षा गर्नुपरेको अवस्था छ। हजारौं रोजगारीको मागमा लाखौं आवेदन पर्ने हुँदा अधिकांश आवेदक अन्ततः अवसरबाट वञ्चित हुन्छन्। यसले युवाहरूमा निराशा, आर्थिक क्षति र मानसिक तनाव बढाउने गरेको छ।
नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारबाट आउने विप्रेषण (रेमिट्यान्स) को योगदान अत्यन्त महत्वपूर्ण छ। यही आयले लाखौं परिवारको जीवनस्तर धानेको छ, विदेशी मुद्रा सञ्चिति मजबुत बनाएको छ र राष्ट्रिय अर्थतन्त्रलाई चलायमान राखेको छ। त्यसैले वैदेशिक रोजगारलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र श्रमिकमैत्री बनाउनु आजको आवश्यकता हो।
मूल समस्या म्यानपावर कम्पनीको अस्तित्व होइन, देशभित्र पर्याप्त रोजगारी सिर्जना गर्न नसक्नु हो। जबसम्म स्वदेशमा सम्मानजनक र पर्याप्त रोजगारी उपलब्ध हुँदैन, तबसम्म वैदेशिक रोजगार नेपाली युवाको महत्वपूर्ण विकल्प रहिरहनेछ। त्यसैले भावनात्मक आरोपभन्दा पनि नीतिगत सुधार, प्रभावकारी नियमन र श्रमिकको अधिकार संरक्षणमा केन्द्रित बहस हुन आवश्यक देखिन्छ।"
government