03/06/2025
“झोले बाबु”
एकपटकको कुरा हो — एउटा गाउँमा एउटा मान्छे हुन्थ्यो, जो दिनरात झोला बोकेर हिँड्थ्यो। उसले सबैको अगाडि आफूलाई “सेवक” भन्थ्यो, तर साँझ पर्दा उसैको झोलाबाट हराएको सुन, लुटिएको अनुदान, जनताको बेचिएको आशा , अख्तियारसँग सेटिङ र बिकेको भोट फेला पर्थ्यो।
गाउँलेले चिच्याए —
“लुटेको छ! बर्बाद बनाएको छ!”
तर उसले गर्वका साथ मुस्कुराउँदै भन्यो —
“गाली गर, चिच्याइदे – म झोले हुँ! मलाई केही हुँदैन।”
किनभने उसले थाहा पाएको थियो —
सिस्टम उसकै जस्तो थियो, अदालत मौन थियो, प्रहरी उसको पकेटमा थियो। त्यसपछि उसले झन् नाङ्गो स्वरमा भन्न थाल्यो —
“म झोले हुँ! लुटे पनि म हुँ, ठगे पनि म हुँ, राजा पनि म हुँ।”
तर अन्ततः,
एक दिन झोला फाट्यो —
र भित्र झिकियो कुहिएको दलाली, रगतसिँचिएको भ्रष्टाचार र जनताको धोका।
जनताले हेरे — झोला ठूलो थियो, तर भित्र केही थिएन, सिवाय कुहिएको भ्रष्टाचारको गन्ध।
त्यो दिनदेखि झोला हेर्दा जनतालाई बास आउन थाल्यो।
किनभने उनीहरू बुझिसकेका थिए —
“झोले भन्नु अब सेवा होइन, यो त चोरीको प्रमाण पत्र हो।”