04/09/2025
जानकारी होस!
गुगल, फेसबुक, युट्युब, टिकटक जस्ता कम्पनीहरूले हामी लगाएतका अरबौं मानिसका लागि निःशुल्क सेवा उपलब्ध गराएका छन्। हामीले जिमेल चलाउँदा, गुगल म्याप हेर्दा वा युट्युबमा भिडियो हेर्दा कुनै शुल्क तिर्नुपर्दैन।
तर यी कम्पनीहरूले आफ्नै खर्चमा—डेटा सेन्टर, स्याटेलाइट, आईटी जनशक्ति आदि—ठूलो पूँजीबाट बेहोर्छन्। अर्थात् ठूला व्यवसायबाट आम्दानी उठाएर हामी सामान्य प्रयोगकर्तालाई सुविधा दिइरहेका छन्।
यस्ता प्लेटफर्मले सिर्जनशीलता, व्यवसाय र आम्दानीको अवसर पनि दिएको छ। उदाहरणका लागि, घरमै बसेर आफै हिडेको-घुमेको भिडियो अपलोड गर्ने व्यक्तिले विदेशमा काम गर्ने मानिस भन्दा राम्रो कमाउन सक्छ। विद्यार्थीले उच्चस्तरीय शिक्षण सामग्री पाउँछन्, टाढा बस्ने परिवारले ह्वाट्सएप वा फेसबुकमार्फत निःशुल्क जोडिन्छन्, र हजारौं नयाँ कलाकारले आफ्नो कला प्रस्तुत गर्ने र सानो व्यवसायीले आफ्नो उत्पादन विश्वभर देखाउन सक्छन्। यसले गरिबलाई पनि आम्दानीको अवसर प्रदान गरेको छ।
पक्कै पनि यस्ता प्लेटफर्ममा गलत सूचना, लत र कानुनी जटिलता जस्ता चुनौतीहरू छन्। तर यी चुनौतीलाई देखेर सम्पूर्ण प्रणालीलाई बन्द गर्नु उचित हुँदैन। ठूला लाभ, सामाजिक सुविधा र आर्थिक अवसरलाई ध्यानमा राखेर, समाधान नियमन र संवादमार्फत खोजिनुपर्छ।
ध्यान रहोस, बन्द गर्न निर्देशन गरिएको २६ वटा सन्जालमा गुगल र जिमेल पनि छ।
यदि जिमेल बन्द भयो भने सम्पुर्ण एन्ड्रोइड फोन र गुगल इको-सिस्टम समेत असर पर्छ। अहिले तपाइ हाम्रो हातमा भएको फोन पनि काम नलाग्ने हुन सक्छ।