10/12/2024
आय विवरण दाखिला गर्ने म्याद नथप्न सर्वोच्चको आदेश
आय विवरण दाखिला गर्ने म्याद थपसम्बन्धी आन्तरिक राजस्व विभागको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ ।न्यायाधीश हेमन्त रावलको एकल इजलासले सोमबार आय विवरण दाखिला गर्ने आन्तरिक राजस्व विभागको गत असोजको सूचना कार्यान्वयन नगर्न प्रधानमन्त्रीको कार्यालय, अर्थ मन्त्रालय, राजस्व अनुसन्धान विभागलगायत निकायलाई निर्देशन दिएको हो ।म्याद थप्ने विभागको निर्णय र त्यसका आधारमा जारी सूचनाविरुद्ध अन्तरिम आदेश माग गर्दै अधिवक्ता सृजना अधिकारीले उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन् । रिटको मागबमोजिम तत्काल अन्तरिम आदेश दिन भने अदालतले इन्कार गरेको छ । अन्तरिम आदेश दिनुपर्ने/नपर्ने सम्बन्धमा छलफल गर्न अदालतले यो मुद्दाको पेसी आउँदो पुस १ मा तोक्न आदेश दिएको छ ।यसमा के–कसो भएको हो ? रिट निवेदन मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए, त्योसमेत साथै राखी सूचना म्याद पाएको मितिले १५ दिनभित्र उच्च सरकारी वकिलको कार्यालय पाटनमार्फत लिखित जवाफ पेस गर्नु भनी यो आदेश र निवेदनको प्रतिलिपिसहित विपक्षीका नाममा म्याद सूचना जारी गरी लिखित जवाफ पेस गर्नू,’ आदेशमा भनिएको छ, ‘छलफलका लागि तोकिएको सो मितिसम्म विपक्षी आन्तरिक राजस्व विभागबाट प्रकाशित मिति ०८१ असोज ७ को सूचना तत्काल कार्यान्वयन नगर्नू, नगराउनू भनी विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ ।’