24/08/2016
पृथ्वीमा जति जीवजन्तुहरू छन्, अनुपातिक हिसाबमा किराहरू ७५% छन् | कतिपय किराहरुले मानिस, पशुपंछि तथा बालिनालीलाई हानी पुर्याउने खालका हुन्छन् भने कतिपय किराहरू अतिनै लाभदायक पनि हुन्छन् |
लाभदायक किराहरू मध्य मौरी पनि एक लाभदायक किरा हो |
मौरी एक यस्तो जीव हो, जसले प्रत्यक्षतः प्रकृतिमा फुल्ने विभिन्न फुलहरुमा रहेको रसलाई बटुली महको रुपमा सञ्चय गर्दछ | अप्रत्यक्ष रूपमा बलीनली तथा बनस्पतिहरूमा परागशेचन गरी उत्पादन तथा जैविक बिबिधताको संरक्षण गरि प्राकृतिक सन्तुलन कायम गर्दछ। मान्छेले महलाइृ विभिन्न दृष्टिकोणले अत्यन्त लाभदायी र उपयोगी देखेर प्राचीन कालदेखि नै मौरी पालन गर्दै आएको पाइन्छ । मौरीको अस्तित्व मानव सभ्यताको विकास हुनुभन्दा अघिदेखि रहेको अनुमान गरिन्छ । पञ्चामृतमा यसको ठूलो महत्व छ । मह शक्तिबद्र्धक हुनका साथै पौष्टिक पनि हुन्छ । मौरीपालनलाई आधुनिक रुप दिने कार्य स्न १८५१ मा अमेरिकाका पादरी ल्याङ स्ट्राथले गरेका थिए । उनले आधुनिक किसिमले मौरी पाल्ने चौकोस भएको घरको विकास गरे । यसपछि १८६५ मा मेजर हुरस्काले महमदानीको आविष्कार गरेपछि मौरीपालन व्यवसाय बढी लोकप्रिय भयो । आज नेपालमा मौरीपालन परम्परागत र आधुनिक तरिका दुवैले गरिन्छ । यसरी मौरीपालन व्यवसाय विकसित हुँदै आएको हो ।
मौरीपालनबाट मैनको पनि उत्पादन हुन्छ । मैन महजस्तो पुष्परस वा परागबाट उत्पादन हुँदैन । मैन मौरीको शरीरको एउटा ग्रन्थी रसाएर निस्कने एक प्रकारको वस्तु हो । चाका निर्माण गर्न, चाकाहरुलाई जोड्न र बच्चाका कोषहरु टाल्नका लागि यसको प्रयोग हुन्छ । मह निचोरेर रहेको चाका तथा पुराना चाका पगाली प्रशोधन गरेर शुद्ध मैन बनाउन सकिन्छ । मैनलाई मैनवत्ति उद्योग सञ्चालन गर्न, मुर्ति र गरगहना टाँस्न, लिपस्टिक र चिपस्टिक जस्ता श्रृंगारका वस्तुहरु बनाउन र मलम एवम् औषधी बनाउन प्रयोग गरिन्छ ।
मौरीपालन व्यवसायीले समयसमयमा घारको निरीक्षण गर्नुपर्छ । मौरीको घारलाई हुरीबतास, जाडो गर्मीबाट जोगाउनुपर्छ । खास गरी वसन्त ऋतुमा गोलामा मौरीको संख्या धेरै भई गोला छुट्टीने सम्भावना रहने हँुदा बेलाबेलामा घार खोलेर हेर्दै गर्नुपर्छ । ठूलो गोलाबाट अन्य गोला बृद्धि हो भने रानीकोष राख्नुपर्छ नभए राम्रो रानीकोष राखेर अरु चाहिँ नष्ट गरिदिनुपर्छ । मौरीका लागि स्थानको अभाव भएमा अरु चौकोसहरु थपिदिनुपर्छ । मौरीलाई चिबे, गौँथली, भंगेरा जस्ता चराहरुले दुःख दिन्छन् । त्यस्तै अरिङ्गाल, माउसुली, बछिउँ, छेपारो, माकुरा भ्यागुताबाट मौरीलाई जोगाउनु पर्दछ । मौरीको चरनक्षेत्रमा मौसमअनुसार फुल फुल्ने गरी बालीनाली र बोटविरुवाहरु लगाउनुपर्छ । मौरीको चरनक्षेत्रमा कडा विषादिको प्रयोग गर्नुहुँदैन । औषधी प्रयोग गर्नुपरेमा मौरीको आवागमन नहुने रातको समयमा गर्नुपर्दछ । आदि कुरामा मौरीपालन व्यवसायले विशेष ध्यान पु¥याउनु पर्छ ।