27/08/2026
जितपुर सिमरा उद्योग वाणिज्य संघका नि. अध्यक्ष शर्मा र नाट्टा मधेश प्रदेशका सदस्य हुसेनलाई पोउवा संघमा स्वागत
११ भाद्र २०८३ । जितपुर सिमरा उद्योग वाणिज्य संघका नि. अध्यक्ष श्री मोहन प्रसाद शर्मा तथा नाट्टा मधेश प्रदेशका सदस्य श्री सद्दाम हुसेनलाई पोखरा उद्योग वाणिज्य संघ (पोउवा संघ) मा स्वागत गरिएको छ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य श्री गोकर्ण कार्कीले शर्मा र हुसेनलाई संघमा स्वागत गर्दै उद्योगी–व्यवसायीबीचको आपसी सहकार्य र अनुभव आदानप्रदानले निजी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।
अध्यक्ष कार्कीले देशका विभिन्न क्षेत्रका उद्योग वाणिज्य संघहरूबीच सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउँदै व्यवसायीका साझा समस्या समाधानका लागि संयुक्त पहल आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले निजी क्षेत्रको विकास, लगानी प्रवर्द्धन तथा व्यवसायीमैत्री वातावरण निर्माणका लागि उद्योग वाणिज्य संघहरूबीचको सम्बन्ध अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो।
सो अवसरमा जितपुर सिमरा उद्योग वाणिज्य संघका नि. अध्यक्ष मोहन प्रसाद शर्माले पोखरा उद्योग वाणिज्य संघले गरेको स्वागतप्रति आभार व्यक्त गर्दै उद्योगी–व्यवसायीका साझा विषयमा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो। उहाँले विभिन्न जिल्लाका उद्योग वाणिज्य संघबीचको सम्बन्ध विस्तार, अनुभव आदानप्रदान तथा सहकार्यले निजी क्षेत्रका समस्या समाधानमा थप बल पुग्ने विश्वास व्यक्त गर्नुभयो।
शर्माले निजी क्षेत्रले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उद्योगी–व्यवसायीलाई प्रोत्साहन गर्ने नीति तथा वातावरण निर्माणका लागि सम्बन्धित निकायसँग संयुक्त रूपमा पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
भेटका क्रममा पोखरा र जितपुर सिमरा क्षेत्रको व्यावसायिक अवस्था, निजी क्षेत्रका समसामयिक समस्या तथा आगामी दिनमा उद्योग वाणिज्य संघहरूबीच सहकार्यका विषयमा समेत छलफल भएको थियो।